-श्याम प्रसाद आचार्य
विषय प्रवेशः
अर्गानिक खेती प्रविधिबाट उत्पादित खाद्यान्नहरु नै अर्गानिक खाद्यान्न हुन् जसमा आधुनिक अप्राकृतिक रसायनहरु किटनासक औषधि, रासायनिक मलहरु प्रयोग गरिएको हुँदैन । यस्ता खाद्यान्नहरु प्रसोधनका लागि परावैजनिकिरण, औद्योगिक घोलक र रासायनिक खाद्यमिश्रण (Food additives) को समेत गरिएको हुँदैन । सन् १९४० को दसकमा औद्योगिक खेतीको सुरुवात भएदेखि नै अर्गानिक खेतिको सुरुवात गरिएको हो । एकातिर खेतिजन्य उत्पादनमा वृद्धि गर्न अप्राकृतिक रसायनहरुको प्रयोग गर्न थालियो भने अर्कोतिर त्यसबाट हुनसक्ने प्रतिकुलल स्वास्थ्य समस्याबाट बच्न सचेत मानिसहरु अर्गानिक खेतिको आवाज उठान गर्न थाले । अमेरिका, क्यानडा, जापान, युरोपियन युनियन तथा अन्य विकसित राष्ट्रहरुले यस्ता अर्गानिक खाद्यान्नको ब्यापार गर्नका लागि प्रमाणपत्र जारी गरी प्रमाणित अर्गानिक खाद्यान्नको स्तरियता निर्धारण गरेका छन् । अति कम विकसित र अविकसित राष्ट्रहरुमा दैनिक खाद्यान्नको पर्याप्तता नभएकोले खाद्य आपूर्तिको लागि औद्योगिक रसायनहरुको प्रयोग गरी अत्यधिक उत्पादनमा जोड दिइएको हुन्छ । उत्पादनमा मात्र ध्यान दिईँदा उत्पादिन बस्तुको गुणस्तरमा ध्यान नपुगेकोले खाद्य पदार्थको गुणस्तर र स्वच्छता ओझेलमा पुगेको छ । कुनै रासायनिक पदार्थ आँप तथा केराजस्ता फलफुलहरु पकाउन प्रयोग गरिन्छ भने कुनै लामो समयसम्म टिकाइराख्न प्रयोग गरिन्छ ।यस्ता अस्वस्थकर खाद्य पदार्थको उपयोगबाट आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेको, क्यान्सर जस्ता असाध्य रोगबाट मानिसहरुको सङ्ख्या दिनानुदिन उच्च दरमा बढीरहेको भन्ने जस्ता सुनाइ र बुझाइले गर्दा बजारमा किनिएका तरकारी, गेडागुडी, अनाज, फलफुल, मासुजन्य पदार्थहरु खानलाई समेत डराउनु पर्ने अवस्था रहेको सन्दर्भमा अर्गानिक खाद्यपदार्थ र साधारण खाद्यपदार्थ के हुन् र यिनीहरुले मानिसको स्वास्थ्यमा के कस्तो प्रभाव पार्दछन् भन्ने बारेमा यो लेख प्रस्तुत गरिएको छ ।
खाद्यान्नको बर्गिकरण
अर्गानिक खाद्यान्न: प्राकृतिक रुपमा गरिने खेतिबाट उत्पादन भएको खाद्यान्न नै अर्गानिक खाद्यान्न हो । अर्गानिक खेतिमा प्राकृतिक मल जस्तै गोवर, कम्पोस्ट आदिको प्रयोग गरिएको हुन्छ । खेतिमा लागेका किराहरु मार्नका लागि हानिकारक किराहरु खाने अन्य किराहरु र चराहरुको प्रयोग गरिएको हुन्छ, जालहरु प्रयोग गरिएको हुन्छ । अनावश्यक झार र किराहरुको आक्रमणबाट बचाउन छहारीको प्रयोग, प्राकृतिक किटनासक रसहरुको प्रयोग गरिएको हुन्छ । अर्गानिक खाद्यान्न भनी प्रमाणित गरिएका खाद्यपदार्थहरु स्वास्थ्यका दृष्टिले राम्रो मानिएको छ किनकी त्यस्ता बस्तुहरुमा मानव सरिरमा नकारात्मक असर पार्ने विसादिहरुको प्रयोग गरिएको हुँदैन । यस्तै गरि मासुजन्य पदार्थ पनि अर्गानिक हुन्छ । पशुपङ्छीशरु जस्तै कुखुर, ब्रोइलर, बङ्गुर, खसी, जस्ता जनावरहरुलाई स्वस्थ राख्नका लागि हर्मोन, एन्टिबायोटिक्स र अन्य रसायनहरुको सेवन गराइएको हुँदैन ।
साधारण खाद्ययान्न: सामान्य रुपबाट खेतवारीमा गरिने खेतिबाट उत्पादिन खाद्यान्न साधारण खाद्यान्न वा परम्परागत खाद्यान्न हो । यस्तो खेतीमा किरा लागेमा किरामार्ने विसादी प्रयोग गरिएको हुन्छ, उत्पादन छिटो र ठूलो बनाउनहर्मोन, भिटामिन र रोग लाग्न नदिन एन्टिबायोटिक्सको प्रयोग गरिएको हुन्छ । साथै फलफुल र जनावरको आनुबंशिकता वा जीनमा परीवर्तन गरी बढी उत्पादन हुने र ठूलो फल दिने गरी उत्पादन गरिएका हुन्छन् । यस्ता प्रकारका खाद्यान्नहरुहरु नै साधारण खाद्यान्न हुन् ।
लोकल वा स्थानीय खाद्यान्न : अक्सर गरी मानिसहरु लोकल तरकारी र मासुजन्य पदार्थ र अर्गानिक तरकारी र मासुजन्य पदार्थलाई उही अर्थमा लिने गरेको पाइए पनि यी दुई कुराहरु समान हैनन् । आफ्नै वा स्थानीय खेतवारी र फारममा तयार गरिएका पदार्थहरु नै लोकल खाद्यपदार्थ हुन् । लोकल पदार्थहरु अर्गानिक हुन्छन वा स्वस्थकर हुन्छन् भन्ने अवधारणा गलत हो । तर, लोकल खाद्यपदार्थहरु स्थानीय खेतवारीमा उत्पादन हुने हुनाले ताजा हुने हुनाले रसिला र स्वादिला हुन्छन् ।
खाद्यपदार्थमा मिसाइएको विषादिको मानव स्वास्थ्यमा हुने प्रभाव
कृषकले खेतबारीमा विषादि हाल्दछन् । उक्त विषादि विरुवाले लिन्छन् । विरुवाले लिएको विषादि पशुपङ्छिले ती विरुवा खाएपछि पशुपङ्छिमा जम्मा हुन्छन् । पुनः मानिसले ती पशुपङ्छि खाँदा मानिसमा गएर जम्मा हुन्छन् । यस्ता विषादि नष्ट नहुने हुनाले पशु तथा मानिसमा जम्मा हुँदै जान्छन् । त्यसैले विषादि प्रयोग भएका खाद्यपदार्थका प्राथमिक उपभोक्त भन्दा खाद्यसृङ्खलाका द्वितीय उपभोक्तालाई बढी असर पर्दछ भने तृतीय उपभोक्तालाई त्यसको असर सबैभन्दा बढी पर्दछ । मानिस खाद्यसृङ्खलामा पशुजन्य खाद्यपदार्थको हकमा तृतीय उपभोक्ता हो भने फलफुल र तरकारीको हकमा द्वितीय उपभोक्ता हो ।
विषादि हाम्रो शरिरमा प्रवेश गरेपछि नष्ट नहुने भएकाले त्यो मस्तिष्क, छाला तथा वोसोमा जम्मा भएर वस्दछ । यसको मात्र जति धेरै बढ्दै जान्छ त्यही क्रममा स्वास्थ्यमा प्रतिकुल असर देखिन थाल्दछ । लामो समयको प्रयोग पछि छालाको क्यान्सर, मस्तिस्कमा समस्या जस्ता असरहरु देखिन सक्दछन् । नेपालमा कृषकहरु विषदिको प्रयोगको मात्रामा सचेत देखिएका छैनन् । जति धेरै विषादी र औषधि हाल्यो त्यति राम्रो खेती हुने विश्वासमा अनियन्त्रित रुपमा त्यस्ता अप्राकृतिक र हानीकारक वस्तुहरुको प्रयोग गर्ने गरेको पाइन्छ । लोकल उत्पादनको नाममा मानिसहरु जस्तोसुकै फलफुल र तरकारीमा विश्वास गरेको समेत पाइन्छ । यो अवधारणा गलत र स्वास्थ्य प्रतिकुल छ ।
खाद्यान्नमा विसादिको प्रयोगबाट मानिसमा देखिने असरहरु ः मुखको वरिपरिको छाला छोएको थाहा नपाउने हुने, अन्य भागको छालामा प्रकास, हावा, छुँदा बढी संवेदनसिल हुने, पुरुषहरुमा शुक्राणुमा कम हुने, धेरै र्याल आउने, बढी पसिना आउने, आँखाको नानी साँघुरिने, सिँगान बगी रहने, पखला लाग्ने, रक्तचापमा कमी आउने, माँशपेशी कमजोर हुने र थकान लाग्ने हुन्छ । Pyrethroids जस्ता विषदिले अत्यधिक उत्तेजना, रिस, असझदारी, पुरै शरिर काँप्ने, छालाको एलर्जि, छालाको क्यान्सर, प्रजनन र विकासमा असर, endocrine system effect आदि देखिन्छ ।
त्यसै गरी खाद्यान्नको फल छिटो बढाउन र ठूलो बनाउन प्रयोग गरिने हर्मोनहरुलाई Herbicides भनिन्छ ।यिनीहरु कम विशाक्त हुन्छन तापनि यीनिहरुले मानवसरिरमा रासायनिक प्रदुशण उत्पन्न गराई क्यान्सर, प्रजनन स्वास्थ्यमा गडबडी र इन्डोक्राइन प्रणालीमा असर गर्दछन् ।
विकिपेडियामा उल्लेख भए अनुसार, अर्गानिक खाद्यान्नमा किटनासकको असर ३० प्रतिशत कम रहेको पाइएको छ ।
पोषण : तीस भन्दा बढी अध्ययनहरुको साराँश अनुसार, अर्गानिक खाद्यान्न र परम्परागत खाद्यान्नमा हुने पोषणको मात्रामा पोषणको मात्रा खास फरक देखिएको छैन तर मासुजन्य पदार्थमा भने यmभनब(घ को मात्र बढी पाइएको छ ।
नकरात्मक पोषण : के साधारण खाद्यपदार्थ खान नहुने नै हो त ?
अनाज, तरकारी र पशुपङ्छिमा प्रयोग गरिने विसादी र अन्य रसायनहरु सामान्यतया ती वस्तुहरुमा किरा नलागोस्, रोग नलागोस, छिटो बढोस् भनेर दिइने हुनाले हाम्रो शरिरमा पनि सोही अनुसारका असरहरु छोड्ने हुनाले अवश्य पनि विशाक्त नै हुन्छन् । तर, किरा फट्याङ्ग्राहरु निकै साना र थोरै मात्रामा रहेको विषादिले समेत मर्ने हुनाले मानिसहरु त्यस्ता विषादि राखेका खानेकुराहरु खाँदैमा तुरुन्तै मर्ने र रोग लाग्ने होइन । अत्यधिक विषादि प्रयोग गरिएका खाद्यपदार्थले तुरुन्तै प्रभाव देखाए पनि कम मात्रामा प्रयोग गरिएका यस्ता रसायनहरुले लामो अवधिको प्रयोगबाट नकरात्मक असर देखाउन सक्दछन् ।
USDA ले गरेको वर्गिकरण अनुसार ९५५ अर्गानिक बनाइएका खाद्यपदार्थलाई अर्गानिक खाद्यपदार्थको लेवल दिइएको हुन्छ । त्यसैले त्यस्ता रसायनहरु न्यूनतम मात्रामा, सतर्कताका साथ प्रयोग गरिएमा, उत्पाद पश्चात विषादिको प्रभाव कम गर्नका लागि प्रसोधन गरिएका छन् भने खानयोग्य हुन्छन् र त्यस्ता खाद्यपदार्थबाट मानव स्वस्थ्यमा प्रतिकुल असर समेत पर्दैन ।
मानिसहरुमा अर्गानिक खाद्यपदार्थ सुरक्षित, धेरै पोषणयुक्त र स्वादिलो हुन्छ भन्ने अवधारणा राख्दछन् । यसैको कारणले मानिसहरुमा अर्गानिक खद्यपदार्थको माग धेरै देखिएको छ । तर यो अवधारणा सत्य हो भन्ने प्रमाण अनुसन्धानहरुले भेटाएका छैनन् । विभिन्न तुलनात्मक अध्ययनले के देखाएका छन् भने अर्गानिक फलफुल र तरकारीहरु केही सुख्खा हुने भएकाले स्वाद केही राम्रो हुन सक्दछ । तर, सन् १९९४ मा गरिएको एक अध्ययनका अनुसार परम्परागत खेतिबाट उत्पादित गोलभेडाको रङ र स्वाद दुबै अर्गानिक प्रविधिबाट बनाएको भन्दा राम्रो भेटियो । यस्ता तरकारीहरु रसिला, हरिया र आकर्षक हुन्छन् । अतः दुबैखाले खाद्यपदार्थमा पाइने पोषणको मात्र उस्तै हो । फरक विषादिको हो । विषादि न्यूनतम र सतर्कताका साथ प्रयोग गरिएको र घरमा धाइ पखाली गरी ताछेर खाने गरेमा साधारण खाद्यपदार्थ खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दैन । विकिपेडियाका अनुसार, अमेरिकोको क्यान्सर सोसाइटिले जारी गरेको प्रतिवेदनले किटनासक विषादि शरिरमा जम्मा हुँदै जाँदा क्यान्सर हुन्छ भन्ने कुराकोे प्रमाण भेटाउन सफल नभएको बताएको छ । मानिसमा भएको मनोबैज्ञानकि त्रासले गर्दा आवश्यकता भन्दा बढी अर्गानिक खाद्यान्नमा आकर्षण बढेको हो । तर विषादि हालिएको फलफुल र तरकारी धोएर मात्र खानयोग्य हुँदैन तर विषदिको मात्र केही कम हुन सक्दछ । फलफुलहरु ताछेर खानाले विषादिको मात्र धेरै मात्रामा कम हुन जान्छ । विषादि मानीसको छाला तथा मस्तिस्कमा गई जम्मा हुने हुनाले यस्ता खाद्यपदार्थ खतराजन्य हुन जान्छन् । विषादिको प्रयोग किन हानिकारक हुन्छ भन्ने कुरा जान्नु जरुरी देखिन्छ ।
निश्कर्षः
अर्गानिक खाद्यान्न दुइगुणा महङ्गो भएपनि स्वास्थ्य र उपभोक्ताको मनोविज्ञानका दृष्टिले सुरक्षित रहेका छन् । साधारण खाद्यान्न पोषणको उपलब्धताका आधारमा अर्गानिक खाद्यान्न समान गुणस्तरका रहेका छन् । साधारण खेतिगर्ने कृषक सचेत र सजग भई निर्धारित मात्रामा किटनासक औषधिको प्रयोग गरेमा साधारण प्रसोधन –पानीमा डुवाउने, धुने, बोक्रा ताछ्ने) बाट खान योग्य हुन्छन् । तर विना प्रमाणित मापदण्ड जथाभावी विषदिको प्रयोग गरिएका खानेकुराहरुको सेवनबाट छाला, मस्तिष्क र पुरै स्वास्थ्यमा प्रतिकुल असर पर्न जान्छ । उपभोक्त समेत तरकारी किन्ने बेलामा सचेत हुनु जरुरी हुन्छ । पकाउनका लागि प्रयोग गरिने औषधिहरु केरा र आँपमा अधिक प्रयोग गरिने हुनाले कुन फलफुल वा तरकारी खानयोग्य छ सो विचार पुराउनु पर्दछ । नेपालमा अर्गानिक भनिएका खेतिहरु कति कुन हदसम्म अर्गानिक छन् भन्ने कुरा कसैलाई थाहा छैन । न त सरकारले यसको मापदण्डका आधारमा प्रमाणित नै गरिदिएको छ । लोकल भन्दैमा तरकारी, फलफुल र मासुजन्य पदार्थ अर्गानिक हुँदैनन् । सही अर्गानिक खाद्यान्नको पहिचान गरी उपयोग गर्न सकिएमा स्वास्थ्य तथा मनोविज्ञान दुबै पक्षबाट सुरक्षित महशुस हुन सक्दछ तर साधारण खाद्यान्न प्रयोग गर्दैमा मेरो स्वास्थ्य खतरामा छ भनी बुझ्नु गलत हुन जान्छ किनकी साधारण खाद्यान्न असुरक्षित छन् भन्ने कुरा प्रमाणित हुन सकेको छैन । यसो भन्दैमा अत्यधिक र बिना मापदण्ड प्रयोग भएको विषादि र हर्मोनजन्य पदार्थले स्वास्थ्य विगार्दैनन् भनी बुझ्नु भने हुँदैन ।